भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
चितवन, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र नाकाबन्दीका कारण सम्पन्न हुन नसकेका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको समयावधि थपिने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको १८ औँं साधारणसभा एवम् रजतजयन्तीको उद्घाटन समारोहलाई आज पूर्वी चितवनको रत्ननगरमा सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीको मागअनुरुप एक वर्षको समय थप गरिने आश्वासन दिनुभयो ।भूकम्प र नाकाबन्दीले आपूर्ति असहज बनेको बताउँदै उहाँले काबु बाहिरको परिस्थितिमा कसैले केही गर्न नसक्ने भए पनि एक वर्षको समयलाई अधिकतम् मानेर सकेसम्म चाँडै निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।गुणस्तरीय निर्माण कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार सस्तोमा राम्रो काम गराउन खोज्छ, तर गुणस्तरहीन होइन ।”प्रधानमन्त्री ओलीले ब्यङ्ग्य गर्नुभयो, “नेपालमा मात्रै हो, बनाएकै भोलिपल्टै बाटो उप्कने गर्दछ ।” निर्माण व्यवसायीले काम गर्दा आफ्नो देश आफँैले बनाइरहेको सोचेर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।भूकम्पले आठ लाख घर भत्किएको, नौ हजार विद्यालयमा क्षति पुगेको तथा पुरातात्विक, ऐतिहासिक र सरकारी कार्यालय भत्किएकाले त्यसको पुनःनिर्माण गर्न समय लाग्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रपति भवन प्रिफेबको छाप्रोमा छ, राज्यको प्रशासनिक केन्द्र सिंहदरबार, सेनाको मुख्यालय, सर्वोच्च अदालत, राष्ट्र बैंक, त्रिभुवन विश्वविद्यालयलगायतका महत्वपूर्ण संरचना भत्किएको बताउनुभयो ।भूकम्पले भत्किएको नेपालको गौरवको रुपमा धरहराको नवनिर्माणका लागि मेरो धरहरा म बनाउँछु अभियान थालनी गरिएको र यस अभियानलाई सहयोग गर्न सबैसँग प्रधानमन्त्रीले आग्रह गर्नुभयो । सरकारी बजेट र दाताको सहयोगमा धरहरा नबनाइने भन्दै उहाँले हाम्रो धरहरा हामीले नै बनाउनु पर्छ भन्नुभयो ।
सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने भन्दै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम राजमार्ग चौडा गराउने, केरुङदेखि काठमाडाँैंसम्मको सडकलाई दुई लेनको पक्की बनाउने, भैरहवा विमानस्थलको कामलाई अगाडि बढाउने, पोखरा विमानस्थलको काम तत्काल सुरु गर्ने, केरुङ– काठमाडाँैं, पोखरा, लुम्बिनी रेलमार्गको काम छिट्टै अघि बढ्ने बताउनुभयो ।महत्वपूर्ण निर्माणका लागि दक्ष प्राविधिक खाँचो पर्ने भन्दै उहाँले विज्ञान प्रविधिको कलेज खोल्ने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो ।सरकारको नेतृत्व आफूले गरेपछि तराई आन्दोलन मत्थर भएको र छिमेकी देशसँग कुटनीतिक सम्बद्ध राम्रो बनेको बताउँदै प्रधानमन्त्री ओलीले सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र देश नेपाल भएकाले यसको गौरव र स्वाभिमान उच्च राख्न सरकार सदैव कटिबद्ध भएर लाग्ने बताउनुभयो ।चीनसँग बोल्दा भारतले देख्ला र भारतसँग बोल्दा चीनले देख्ला भन्ने परम्पराको अन्त्य भएको भन्दै उहाँले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर भूपरिवेष्टित मुलुक भएको नाताले पारवाहनको अधिकार दुवैसँग लिन सकिने धारणा राख्नुभयो ।हालै मात्र चीन भ्रमण गरेर आउनु भएका प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताउनुभयो । उहाँले सरकार अब निर्माणमा जुटेको भन्दै उहाँले सडक बन्द गर्ने, नाका बन्द गर्ने र ताला लगाउनेलाई सरकारले छाड्दैन भन्नुभयो ।सोही अवसरमा प्रधानमन्त्री ओलीले महासङ्घको रजत जयन्ती प्रतीकको लोगो सार्वजनिक गर्नुभएको थियो भने महासङ्घले तयार गरेको स्मारिकाको विमोचन गर्नुभयो ।प्रधानमन्त्री ओलीले महासङ्घलाई महत्वपूर्ण सहयोग गर्ने सङ्घ संस्था तथा व्यक्तिलाई प्रशंसापत्र वितरण गर्नुभयो ।उद्घाटन सत्रपछि आजै महासङ्घले आयोजना गर्ने विशेष समारोहमा २२ क्षेत्रका निर्माण व्यवसायीलाई पदक एवम् सम्मान गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छेदारको प्रमुख आतिथ्यतामा हुँदैछ ।भोलिसम्म चल्ने महासङ्घको कार्यक्रममा देशभरिबाट एक हजार दुई सयभन्दा बढी प्रतिनिधि एवम् पर्यवेक्षकको सहभागिता रहेको छ ।उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले निर्माण क्षेत्रमा १५ लाख व्यक्तिले रोजगार पाएको, १२ हजार ५०० निर्माण व्यवसायी आवद्ध भएको, विकास बजेटको ६० प्रतिशत निर्माण व्यवसायीमार्फत् खर्च हुने गरेको र आर्थिक वृद्धिदरमा १२ प्रतिशत योगदान गरेको जानकारी गराउनुभयो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment